काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सरकारमा र पार्टीभित्र विवादमा मुछिएका छन् । सर्वाेच्च अदालतले नेकपा एमाले ब्युताइदिएपछि अध्यक्ष ओलीले एकतर्फी निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अर्कैतिर हिँडेको छ ।

खनाल–नेपाल पक्षले बुधबार छुट्टै राष्ट्रिय भेला सुरु गरेको छ । प्रधानमन्त्री ओलीले हिजो मंगलबार बोलाएको चियापान कार्यक्रम खनाल–नेपाल पक्षले बहिष्कार गर्‍यो ।

प्रधानमन्त्री ओली भोलि बिहीबार फेरि बहिष्कार हुने भएका छन् । नेता नेपाल पक्षले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने जनाएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहीवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्नका लागि भन्दै एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

नेकपा एमालेको नेपाल पक्षका नेताहरुले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने जनाएका छन् । भोलि बिहीबार समेत नेता नेपाल पक्षको भेला रहेको छ ।

‘आज मात्र हामीलाई मोबाइलमा सूचना आएको थियो कि प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाउनुभएको छ भनेर,’ एमाले सचिव योगेश भट्टराईले भने ।

राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदा–पाउँदै संसदीय दलको बैठक बोलाइएकाले आफूहरु उपस्थित हुन नसक्ने भट्टराईले बताएका छन् । ‘संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ । संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरुको यहाँ उपस्थिति छ भन्ने उहाँहरुलाई राम्रोसँग थाहा थियो,’ भट्टराईले भनेका छन् ।

संसदीय दलमा जान कुनै समस्या नरहेको तर बिहीवार बोलाइएको बैठकको समय अनुकूल नभएको भट्टराईले बताए । ‘संसदीय दलमा जानका लागि कुनै समस्या छैन । हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं । अनुकूल हुने समयमा हामी जान्छौं भनेका छौं,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय